काठमाडौं । ज्योति विकास बैंकले कोशी प्रदेशका विभिन्न स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कोशीका विभिन्न जिल्लाका स्वास्थ्य चौकीहरुमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया हुनबाट जोगाउन आवश्यक हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको हो ।

सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्ने उद्देश्यले बैंकले आफ्नो शाखा नभएका स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको छ। यसअन्तर्गत बैंकले हालसम्म देशभर ७० वटा मेसिन जडान गरिसकेको छ।

बैंकको पहलमा सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१२ स्थित सिसुवाखोला हेल्थ पोस्ट र मकालु गाउँपालिका–५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्रमा बेबी वार्मर जडान गरिएको हो। साथै, खोटाङको जालपा वडा नम्बर १२ स्थित पुजनसेवा नगर अस्पताल र पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका-२ स्थित एकतीन हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको हो।

उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको बैंकले जनाएको छ । सोही अवसरमा अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम प्रदान गरिएको थियो।

बैंकले यसअघि प्रदान गरेका ६६ वटा बेबी वार्मर उपकरणहरुमार्फत हरेक वर्ष करिब २४४२ भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई उनीहरुको जीवन रक्षा गर्न सफल भएको जनाएको छ। हालसम्मको योगदानले करिब १२२१० भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यो सेवाबाट लाभान्वित भएको जनाइएको छ ।

बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा ४१ करोड करमा योगदान पुर्‍याएको छ। ज्योति विकास बैंकले हाल ११८ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।