सुनसरी। सशस्त्र प्रहरी बलको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि सुनसरीको कोशी गाउँपालिकामा तनाव फैलिएको छ। आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेका छन्।
घटना बिहीबार राति करिब १ बजे कोशी गाउँपालिका–१ मा भएको हो। तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको जनाइएको छ। प्रहरीका अनुसार साह भारतीय सीमावर्ती क्षेत्रबाट चिनी, सर्फ र सुर्तीजन्य सामग्री ल्याउँदै गर्दा गोली लागेका थिए। उनी घर नजिकै गोली प्रहारमा परेका थिए र दुई राउन्ड गोली लागेको बताइएको छ।
साहको मृत्युपछि आक्रोशित स्थानीयले लौकही खण्डमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै शव सडकमा राखेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने मोटरसाइकल मात्र आवतजावत गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थानीयले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि भीड तितरबितर पार्न प्रहरीले हवाई फायरसमेत गरेको छ।
उता, सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डीआईजी कुमार न्यौपानेले तस्करीमा संलग्न समूहले प्रहरीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गर्नुपरेको दाबी गरेका छन्। उनका अनुसार सीमावर्ती क्षेत्रबाट सिटी सफारी र अटो रिक्सा प्रयोग गरी अवैध सामग्री ओसारपसार भइरहेको अवस्थामा झडप भएको थियो।
स्थानीयवासीले भने सशस्त्र प्रहरीले निर्दोष व्यक्तिको हत्या गरेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
प्रशासन र पीडित पक्षबीच राजमार्ग खुलाउने प्रयासका लागि वार्ता गरिएको भए पनि सहमति हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थिति अझै तनावग्रस्त रहेको छ।






