ललितपुर । हिजो पुस ८ गते नेपाली प्रजातान्त्रिक आन्दोलनका सन्त नेता, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को १०२औँ जन्मजयन्ती थियो। लोकतन्त्रका लागि जीवन समर्पण गरेका, सादा जीवन र उच्च विचारका प्रतीक मानिने किसुनजीको जन्मजयन्ती उनका योगदान, सादगी र उनले देखाएको बाटो स्मरण गर्ने दिन हो।

तर जन्मजयन्तीकै दिन ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवस्था भने स्तब्ध पार्ने खालको देखियो। सिन्धुलीबाट २०५१ सालमा निर्वाचित सांसद प्राध्यापक होमराज दाहाल र पंक्तिकार मंगलबार दिउँसो २ बजेर २४ मिनेटमा आश्रम पुग्दा सम्पूर्ण क्षेत्र सुनसान थियो। वर्षौँदेखि किसुनजीको जन्मजयन्ती र स्मृति दिवसमा देशका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आश्रममा ताला लागेको गेट, बेरिएको तार, जलेका सवारीसाधनका भग्नावशेष, शालिकविहीन आँगन, फुटेका सिसा र अस्तव्यस्त कार्यक्रम स्थलले समय नै यहाँ आएर रोकिएको अनुभूति दिलाउँथ्यो।

भदौ २४ गते जेन–जेड समूहको विध्वंसात्मक गतिविधिपछि आश्रम आज ‘भूतबंगला’ जस्तै बनेको छ। आश्रम अगाडि रहेको किसुनजीको शालिक तोडफोड गरी नष्ट गरिएको छ। लोकतन्त्रका लागि जेल जीवन बिताएका, सत्ता होइन सिद्धान्त रोजेका नेताको स्मृतिस्थलको यो अवस्थाले राजनीतिक र ऐतिहासिक चेत भएका जो–कोहीलाई भावविह्वल बनाउने खालको छ।

ADVERTISEMENT

वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा जन्मिएका कृष्णप्रसाद भट्टराईको जीवन आफैँमा नेपालको आधुनिक राजनीतिक इतिहाससँग गाँसिएको छ। पूर्वसांसद प्राध्यापक होमराज दाहालका अनुसार, “राणा प्रधानमन्त्री वीर शम्शेरको वक्रदृष्टिका कारण परिवार बनारस निर्वासित हुनुपरेको थियो। त्यही परिवेशले उनलाई राजनीतितर्फ डोर्‍यायो। सन् १९४२ को ‘भारत छोडो’ आन्दोलनमा सक्रिय सहभागी बनेर उनी पहिलो पटक जेल परेका थिए।”

ADVERTISEMENT

बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत रहँदा नेपाल छात्र संघको उपाध्यक्ष बनेर नेपाली युवामा राजनीतिक चेतना फैलाएका भट्टराई वि.सं. २००३ मा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन हुँदा महामन्त्री बने। पछि नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरण भई बनेको नेपाली कांग्रेसका सहमहामन्त्रीको जिम्मेवारी पनि उनले सम्हाले।

ADVERTISEMENT

२००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर क्षेत्र कब्जा गर्ने मुक्ति सेनाका कमाण्डरका रूपमा उनको भूमिका इतिहासमा दर्ज छ। वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रको ‘कू’पछि थापाथलीबाट बीपी कोइरालासँगै पक्राउ परेका भट्टराईले लगातार १० वर्ष जेल जीवन बिताए। जीवनभर १४ वर्षभन्दा बढी समय जेलमै बिताएका उनले कहिल्यै निर्वासन रोजेनन्।

अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र सम्भव छ भन्ने दृढ विश्वास किसुनजीको राजनीतिक कर्मको मूल आधार थियो। जेलमुक्तिपछि वि.सं. २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापना समारोह उद्घाटन गरेर उनले विद्यार्थी आन्दोलनलाई नयाँ ऊर्जा दिए। २०३४ को पटना सम्मेलनपछि स्वास्थ्य कारण देखाउँदै बीपी कोइरालाले उनलाई कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको पूर्वमन्त्री तथा कांग्रेस नेता ओमकारप्रसाद श्रेष्ठ बताउँछन्।

“बीपीको निधनपछि पनि करिब डेढ दशक किसुनजीले कार्यवाहक सभापतिकै रूपमा पार्टीको नेतृत्व गरे। २०४६ को जनआन्दोलनका सभापति, २०४७ का अन्तरिम प्रधानमन्त्री, जनआन्दोलनको घोषणासभा तथा क्षेत्रपाटी सम्मेलनको सभापतित्व उनले नै गरेका थिए,” श्रेष्ठ भन्छन्। आन्दोलन सफल भएपछि एक वर्षभित्र संविधान निर्माण र निर्वाचन सम्पन्न गरेर उनले सत्ता होइन दायित्व प्राथमिकतामा राख्ने उदाहरण प्रस्तुत गरे।

विडम्बना, प्रधानमन्त्री हुँदा गराएको २०४८ को निर्वाचनमा किसुनजी स्वयं पराजित भए। २०१५ मा गोर्खा र २०५१ मा काठमाडौँ क्षेत्र नम्बर १ बाट पनि पराजय भोगे। तर ती पराजयले उनको राजनीतिक उचाइ घटाएनन्, बरु सन्त नेताको छवि अझ प्रखर बनायो।

किसुनजी आजीवन अविवाहित रहे। प्रधानमन्त्रीबाट राजीनामा दिएर बाहिरिँदा छाता र कमण्डलु बोकेर पैदल हिँडेको दृश्य आज पनि राजनीतिक नैतिकताको प्रतीकका रूपमा स्मरण गरिन्छ। २०६७ फागुन २० गते राति ११ बजेर २६ मिनेटमा काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उनको निधन भयो। फागुन २१ गते पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो।

आज किसुनजीको १०२औँ जन्मजयन्तीमा बाँडेगाउँस्थित भट्टराई आश्रमको जर्जर अवस्था केवल एउटा स्थलको दुर्दशा मात्र होइन, त्याग, निष्ठा र सिद्धान्तको राजनीतिक सन्देश दिने स्थान बेवारिसे बनेको पीडादायी यथार्थ हो। सिद्धान्तका लागि जीवन अर्पण गर्ने नेताको स्मृतिस्थल यसरी उपेक्षित हुनु लोकतन्त्रप्रतिको हाम्रो जिम्मेवारीमाथि नै प्रश्न उठाउने विषय बनेको छ।

किसुनजी आज छैनन्, तर उनको सादगी, इमानदारी र लोकतान्त्रिक आस्थाका मूल्य–मान्यताहरू आजको राजनीतिमा अझै पनि गहिरो रूपमा खड्किरहेका छन्।