काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले शुक्रबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिँदैछ ।

जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले आईजीपी कार्कीलाई पनि बोलाएको हो । घटना हुँदा एआईजी रहेका कार्की कात्तिक २७ गतेबाट प्रहरी महानिरीक्षक छन् ।

ADVERTISEMENT

आईजीपी कार्कीसँग बयान लिन पत्र काटिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए ।जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो ।

शुक्रबार आयोगमा एकसाथ तीन जनासँग सोधपुछ हुने भएको छ । बिहीबारदेखि नै बयान दिन पुगेका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीको बयान सकिएकै छैन । उनीहरूसँग आज पनि बयान जारी रहने छ ।

ADVERTISEMENT

तीनजनाको बयान सकिएपछि पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्वप्रधानमन्त्री केपी ओलीसँग बयान लिने आयोगको तयारी छ ।