चन्द्रप्रकाश बानियाँ

उखानै छ ‘बोकाले दाइँ हुँदैन’ र हाम्रो मुलुकमा भने वैकल्पिक राजनीतिको नाममा च्याउझै राजनीतिक दलहरु जन्मेका छन् ।

ADVERTISEMENT

कोही रवि भनेर कुदेको छ, कोही कुलमान भनेर उफ्रेको छ, कोही हर्कको पछि कुदेको छ, कसैले बालेनलाई बोकेको छ । बुझ्नुपर्ने कुरा के हो भने राजनीतिको विकल्प राजनीति हो, व्यक्ति होइन । चिनीको विकल्प गुंड हुन सक्ला, तर नुन कदापि हुँदैन ।

ADVERTISEMENT

देश चलाउने अर्थनीतिले हो । बजारमा देखिएका च्याउजस्ता अहिलेका पार्टीहरुसँग पुरानाहरुको भन्दा कुन फरक आर्थिक कार्यक्रम छ ? उन्नति प्रगतिको मुख्य आधार शिक्षा हो । यतिखेरको शिक्षा नीति र प्रणालीलाई प्रतिस्थापित गर्ने योजना कसैसंग छ ?

देशको मुख्य समस्या रोजगारी हो । नेपालको जनशक्ती नेपालमै खपाउने योजना विकल्प भनेर ठडिएका नयाँ जुलुङ्गाहरुसंग के छ ? गरिबीको कारणले गतिलो उपचार पाउन नसकिने नेपालीहरुको वर्तमान अवस्थाबाट मुक्ती दिने कोसँग कुन स्किम छ ?

राजनीतिमा निश्चित कार्यक्रमबाट चल्छ । कार्यक्रम दृष्टिकोणअनुसार बन्छ । अर्थात् समाज र देशलाई कुन बाटो डोराएर कहाँ पुर्‍याउन सकिन्छ भन्ने विश्वव्यापी मान्यताहरु स्थापित भएका छन् । संसारको राजनीति त्यसरी नै चलेको छ ।

अमेरिकाले समातेको समृद्धिको मार्गभन्दा चीनको फरक छ । नर्डिक मुलुकहरुले तेश्रो बाटो अवलम्बन गरेका छन् । तिनै बनिबनाउ बाटो हिँडने हो कि अर्को नयाँ बाटो हिँड्ने हो ? कुन बाटो हिँड्ने हो भन्ने कुरा निश्चित नभएका अर्थात् आफू हिँड्ने बाटो नपहिल्याएका अर्थात् आँखामा पट्टि बाँधे जसरी हिँड्नेहरुको पछि लागेर देश कहाँ पुग्ला ?

त्यसैले नेपालमा कल्पना गर्न थालिएको विकल्पको राजनीतिक हल्ला स्वैरकल्पना मात्रै हो । हो, राप्रपाको विकल्प दुर्गा प्रसाईहरु हुन सक्छन्, एमालेको विकल्प नवगठित नेकपा हुन सक्ला, बाबुरामदेखि रवि र कुलमानसम्म जोडिएर कांग्रेसको विकल्प बन्न सक्लान् ।

तर हामीलाई चाहिएको ठुटे गोरुको ठाउँमा कानो गोरु होइन । यतिखेर देखिएका विकल्प निकृष्ट विकल्प मात्रै हुन् । आगामी केही दशक नेपाली कल्पनाको विकल्प तयार हुने सम्भावना देखिँदैन ।

हामीलाई मन परे पनि नपरे पनि राजनीतिक दल त पुरानै सुमर्नुको विकल्प छैन । हो, दलहरु सुध्रिउन् भन्न सकिन्छ । दलहरु सुध्रनु भनेको नेता सुध्रने होइन, नीति र नेता परिवर्तन गर्ने हो । नेतृत्व हस्तान्तरण हुने हो । नेपालमा बस्न नसकेको परिपाटी त्यो मात्रै हो ।