काठमाडौं । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बिजुलीको चिम प्रयोग गर्ने भएको छ । कुलमान र खगेन्द्रबीच बुधबार यस्तो सहमति भएको हो ।
हाम्रो पार्टी नेपालले आमनिर्वाचनमा बिजुलीको चिम चुनाव चिह्नमा उम्मेदवारी दिन निर्वाचन आयोगमा निवेदन दिएको छ । आयोगले दुवै दललाई बुधबार दलको उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारी तोकेको छ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन गरिने उम्मेदवारको औपचारिक पत्र प्रदान गर्न दुवै पार्टीले पदाधिकारी तोकेको हो । जसअनुसार हाम्रो पार्टी नेपालले अध्यक्ष खगेन्द्र सुनार र उज्यालो पार्टी नेपालले अध्यक्ष अनुपकुमार उपाध्यायलाई तोकेको छ ।
हाम्रो पार्टी नेपालका तर्फबाट सदस्य दधिराज परियार र उज्यालो पार्टी नेपालका तर्फबाट सदस्य जितराम लामाले आयोगमा निवेदन पेस गरेका थिए । उज्यालो नेपाल पार्टीमा वर्तमान सरकारमा ऊर्जा र सहरी विकासमन्त्री रहेका कुलमान घिसिङको साथ छ ।
उज्यालो, हाम्रो पार्टी र रेञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता प्रक्रिया अन्तिम चरणमा छ । कुलमान र रास्वपा नेताहरुबीच पनि पार्टी एकताबारे छलफल जारी छ ।






