काठमाडौं । नेपालको डिजिटल भुक्तानी क्षेत्र विस्तार हुँदै गर्दा खल्ती बाइ आईएमईले नेतृत्व तहमा महत्वपूर्ण निर्णय लिँदै प्रवीण रेग्मीलाई चार वर्षका लागि पुनः नियुक्त गरेको छ। मर्जरअघि आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका रेग्मी, खल्ती र आईएमई मर्जर भएर ‘खल्ती बाइ आईएमई’ बनेपछि सञ्चालकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।

मर्जरपछिको संरचनामा तत्कालीन खल्तीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिनय खड्कालाई संयुक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो भने रेग्मीलाई संस्थागत रणनीति तथा नीतिगत मार्गनिर्देशनका लागि बोर्डतर्फ जिम्मेवारी दिइएको थियो।

ADVERTISEMENT

दुई वर्ष नपुग्दै रेग्मीलाई चार वर्षका लागि पुनः नियुक्त गर्ने निर्णयलाई कम्पनीले नेतृत्व स्थायित्व, दीर्घकालीन योजना र फिनटेक बजारमा संस्थागत उपस्थितिलाई सुदृढ पार्ने कदमका रूपमा हेरिएको छ । खल्ती र आईएमईको मर्जरपछि बनेको खल्ती बाइ आईएमईले भुक्तानी, बिल पेमेन्ट, व्यापारी सेवा विस्तार, ग्रामीण वित्तीय पहुँच र डिजिटल समाधान विकासमा तीव्र प्रगति गर्दै आएको छ । संयुक्त संरचना सञ्चालनका प्रारम्भिक चरणमा बिनय खड्काले व्यवस्थापन नेतृत्व सम्हाल्दै कम्पनीलाई एकीकृत सञ्चालन मोडेलमा अघि बढाए भने रेग्मीले निर्देशकका रूपमा नीतिगत स्पष्टता, नयाँ रणनीति निर्माण र दीर्घकालीन कार्ययोजना निर्धारणमा योगदान दिँदै आएका छन् ।

ADVERTISEMENT

रेग्मीको चार वर्षे पुनर्नियुक्तिले कम्पनीले सेवा विस्तार, व्यवसायिक स्थायित्व, फिनटेक प्रतिस्पर्धा र नवप्रवर्तनलाई दीर्घकालीन रूपमा अघि बढाउन चाहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ। बजारमा थप प्रतिस्पर्धाको तयारी, नयाँ प्रविधिमैत्री सेवा विकास, तथा देशभर डिजिटल वित्तीय पहुँच बढाउने लक्ष्यसहित खल्ती बाइ आईएमईले आगामी वर्षहरूमा आक्रामक रूपमा सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ। प्राविधिक, व्यवसायिक र नीतिगत क्षेत्रमा रेग्मीले प्रदान गर्ने नेतृत्व कम्पनीको आगामी यात्रा निर्धारण गर्ने महत्वपूर्ण कारक हुने विश्वास गरिएको छ।

ADVERTISEMENT