काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। कात्तिक महिनाको तुलनामा मंसिर महिनामा बैंकहरुको औषत ब्याजदर घटेको छ।
प्रकाशित सूचनाअनुसार २० मध्ये १० वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । १० बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंकले मंसिर महिनाका लागि ब्याजदर घटाएका हुन्।
एभरेष्ट, नेपाल बैंक, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे, एनएमबि, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । एनआईएमबिले संस्थागततर्फ भने ब्याजदर घटाएको छ ।
मंसिरका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंक एनआईसी एसिया रहेको छ। सो बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ। मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशियाले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ। सो बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि घटाएको छ।
व्यक्तिगत मुद्दती निक्षेपमा मंसिरमा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले दिने भएको छ। सो बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिनेछ। सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकल दिनेछ। उक्त बैंकले अधिकतममा ४.७ प्रतिशत ब्याज दिने भएको छ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर, कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ०.१६ प्रतिशतविन्दुले घटेको छ। कात्तिकमा बैंकहरुले औसतमा ५.२० प्रतिशतविन्दुका दरले ब्याज दिएका थिए। मंसिरमा भने सो घटेर ५.०४ प्रतिशतविन्दुमा झरेको छ। संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने समीक्षा अवधिमा ०.०७ प्रतिशतविन्दुले घटाएका छन्।











