काठमाडौं । नेपाली कांग्रेसमा अहिले देखिएको विवादबारे नेताहरूले आफ्नो धारणा सार्वजनिक गर्ने क्रम बढेको छ । केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठक मंगलबार पनि बस्दैछ ।
केही केन्द्रीय सदस्यले बैठक र केहीले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा बाहिर ल्याइरहेका छन् । यसैक्रममा केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले कांग्रेसमा देखिएको अहिलेको विवाद समाधार गर्न सातबुँदे सुझाव दिएका छन् । जसमा कांग्रेसको अहिलेको लक्ष्य चुनाव हुनुपर्ने धारणा राखेका छन् ।
गुरुङका अनुसार कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रविन्दुमा राखेर आफ्नो सम्पूर्ण गतिविधि सञ्चालन गर्नुपर्छ । विषम परिस्थितिजन्य बाध्यताले सीधा बाटोबाट अलिकति अलग हुन बाध्य भएको नेपालको संविधानलाई चुनावले मात्रै मूलबाटेमा ल्याउन सक्छ । यसर्थ कांग्रेसको अहिलेको लक्ष्य चुनाव नै हुनुपर्ने उनको भनाइ छ ।
गुरुङले कांग्रेसको केन्द्रीय कार्यसमितिदेखि वडा कार्यसमितिसम्मका सबै तहहरु तन, मन र वचनले चुनावको तयारीमा लाग्नुपर्ने बताउँदै चुनावले मात्रै बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रलाई जीवित राख्न सक्छ र चलायमान बनाउन सक्ने धारणा राखेका छन् । प्रतिनिधिसभा पुनर्बहालीको सम्बन्धमा सर्वोच्च अदालतको निर्णय कांग्रेसलाई स्विकार्य हुने उनको भनाइ छ ।
यस्तो छ गुरुङका सुझाव
१. नेपाली कांग्रेसले प्रतिनिधि सभा (प्रत्यक्ष र समानुपातिकतर्फ), राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरुको निर्वाचनमा अहिलेसम्म कुनै पनि अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्छ । पार्टीमा राजनीतिक न्याय, राजनीतिक सुरक्षा र राजनीतिक अवसरको समान र न्यायोचित वितरण हुन्छ भन्ने व्यवहारिक विश्वास र अनुभूति हुनुपर्छ ।
२. नेपाली कांग्रेसको विधानको धारा (२३) अनुसार गठन हुने केन्द्रीय कार्यसम्पादन समितिलाई पूर्णता दिनुपर्छ र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरु ५० प्रतिशत पुरुष र ५० प्रतिशत महिलालाई मनोनीत गर्नु पर्छ ।
३. नेपाली कांग्रेसको विधानको धारा ३१ (घ) अनुसार गठन हुने केन्द्रीय संसदीय समितिलाई पूर्णता दिनुपर्छ र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरु ५० प्रतिशत पुरुष र ५० प्रतिशत)लाई मनोनित गर्नुपर्छ ।
४. नेपाली कांग्रेसले १६५ प्रतिनिधि सभा, ३३० प्रदेश सभा र ७५३ स्थानीय तहको निर्वाचनमा एक्लै आफ्नो उम्मेदवार लिएर चुनावमा जानुपर्छ । अन्य कुनै पनि दलसंग प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु हुंदैन ।
५. तर, राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसले आवश्यक अवस्थामा आवश्यकताअनुसार अन्य दलहरुसंग गठबन्धन गर्न सकिने ढोकालाई पनि खुल्ला राख्नु पर्छ ।
६. नेपाली कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरुको उम्मेदवारहरु तत्काल घोषणा गरेर आम मतदाताको घरदैलो पार्टीको उम्मेदवारहरु लिएर चाँडो भन्दा चाँडो पुग्नु पर्छ ।
७. नेपाली कांग्रेसले या त प्रतिनिधि सभामा आफ्नो एकल बहुमत नआए सम्म सरकार गठन नगर्ने वैधानिक व्यवस्था गर्नुपर्छ । या त प्रतिनिधिसभामा पार्टीको एकल बहुमत नरहेको अवस्थामा सरकार निर्माणको क्रममा अन्य दलहरुसग आवश्यकताअनुसार गठबन्धन गर्न सकिने विकल्पलाई पनि खुल्ला राख्ने निर्णय गर्नुपर्दछ ।






