काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामाको घोषणा गरेका छन्। विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन मंगलबार प्रदेश सभामा विश्वासको मत सामना नगरी उनले रोष्टमबाटै राजीनामाको घोषणा गरेका हुन्।
आफ्नो अन्तिम वक्तव्यको अन्तिममा राजीनामाको घोषणा गरेपछि विश्वासको मत विभाजन गर्न नपर्ने भन्दै सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको घोषणा गरे।
लिखित वक्तव्य पढेर सुनाएका मुख्यमन्त्री सिंहले राजीनामा मात्र दिएनन्, अध्यक्ष डा. सीके राउत र उनी नेतृत्वको पार्टी जनमतलाई विभिन्न चेतावनी र चुनौती पनि दिए। ‘देशभर तोडफोड र विध्वंश भइरहेका बेला चीनमा रहनुभएका जनमतका अध्यक्ष सीके राउतजीले मलाई राजीनामा दिन निर्देशन दिनुभयो । मैले प्रदेश प्रमुखज्यूसमक्ष नै राजीनामा दिने कुरा राख्दा त्यो नगर्न अध्यक्षज्यूको निर्देशन थियो,’ उनले भने ।
आफू मुख्यमन्त्री बनेकै दिनदेखि जनमत पार्टी मधेशका संसदीय दलका नेता महेश यादव कांग्रेससँग मिलेर षड्यन्त्र सुरु गरेकोदेखि लोकतन्त्रमा जनता भगवान हुनुपर्नेमा कार्यकर्ताबाट आफैँलाई भगवान भन्न लगाएको भन्दै अध्यक्ष राउतको आलोचना गरे।
सिंहले पदबाट राजीनामा दिएलगत्तै मधेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि समय दिनेछन् । त्यसबेला कांग्रेस, एमाले र जनमत पार्टीको गठबन्धन सरकार बन्नेछ । गठबन्धनमै रहेको लोसपाले सोमबार मात्र मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।







