काठमाडौं, १६ असोज । आज विजयादशमी अर्थात् दशैंको मुख्य दिन, नेपालीहरूले मान्यजनको हातबाट देवी भगवतीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्दै पर्व मनाइरहेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११:५३ मा परेको छ।

समितिका अनुसार टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने मान्यता छ। घटस्थापनाका दिन पूजित घडाबाट अभिषेक गरी विधिपूर्वक टीका लगाइने परम्परा रहिआएको छ।

ADVERTISEMENT

यस अवसरमा गुरु–पुरोहित, हजुरबुबा–हजुरआमा, आमाबाबु तथा अन्य मान्यजनको हातबाट टीका–जमरा र प्रसाद ग्रहण गरी दीर्घायु, समृद्धि र यश प्राप्त होस् भन्ने आशीर्वाद लिने गरिन्छ।

ADVERTISEMENT

बिहान ९:२३ मा देवी विसर्जन गर्ने साइत रहेको समितिका सदस्य डा. वासुदेवकृष्ण शास्त्रीले जानकारी दिएका छन्। विजयादशमी आफैंमा शुभ दिन भएकाले प्रसाद ग्रहण गर्न सामान्य व्यक्तिलाई विशेष साइत खोज्नुपर्ने प्रचलन छैन। तर टीका लगाउनुभन्दा अघि दुर्गा विसर्जन गर्ने विधि भने पालना गर्नुपर्ने बताइन्छ।

आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट देवीको प्रसादस्वरूप टीका–जमरा ग्रहण गर्न सक्नेछन्। पूर्णिमाको दिन महालक्ष्मीको व्रत बसेपछि दशैं पर्व समापन हुने परम्परा छ।

ADVERTISEMENT

नेपालभर आजको दिन विशेष उत्साहका साथ दशैं मनाइँदैछ भने विदेशमा रहेका नेपालीहरूले पनि आफ्नो समुदायमा भेला भई टीका–जमरा आदान–प्रदान गर्दै पर्व मनाउने गर्छन्।