काठमाडौं । उपत्यका मेयर्स फोरमले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड दिने भएको छ । बिहीबार बसेको फोरमको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।
शुक्रबार निर्णय सार्वजनिक गर्दै मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले सिंहदरबार र प्रहरी कार्यालयहरु पुनर्निर्माण गर्न सहयोग गर्ने निर्णय भएको बताए। महर्जनका अनुसार उपत्यका प्रहरी कार्यालय पुर्ननिर्माणको लागि एक करोड दिने निर्णय भएको छ।
उपत्यकाका प्रहरी वृत्त, प्रभाग र चौकी तथा स्थानीय तहको भवन पुननिर्माणका लागि क्षतिको विवरण हेरेर आर्थिक सहयोग गर्ने निर्णय गरिएको उनले बताए।
तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएका उपत्यकाका अन्य नगरपालिकालाई समेत सेवा प्रवाहमा सहजीकरणका लागि क्षतिका आधारमा सहयोग गर्ने निर्णय गरेको छ। मेयर्स फोरम उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका मेयरहरुको फोरम हो।
भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायतका राज्यका संरचना आगो लाग्दा काठमाडौं महानगरपालिका मौन बसेको थियो । तीन दिनसम्म सर्वोच्चमा लागेको आगो ननिभाइएपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ललितपुरका मेयर महर्जनलाई फोन गरेर दमकल पठाइदिन भनेका थिए । तत्काल चिरिबाबु महर्जनले दमकल पठाएर सर्वोच्चको आगो नियन्त्रणमा लिइएको थियो ।
उपत्यकाका अन्य स्थानीय तहभन्दा काठमाडौं महानगरपालिकामा राज्यका निकायमा धेरै क्षति भए पनि मेयर बालेन्द्र साह बालेनले त्यसबारे केही बोलेका छैनन् । फोरमको बैठकमा समेत बालेन उपस्थित भएनन् ।











