काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भवती महिलाहरूले दुखाइ कम गर्न सेवन गर्ने औषधि टायलेनोलका कारण नवजात शिशुमा अटिजम देखिनसक्ने दाबी गरेका छन् ।
उनले अमेरिकाका चिकित्सकहरूलाई गर्भवती महिलाहरूलाई टायलेनोल सिफारिस नगर्न निर्देशन दिने तयारी भइरहेको बताएका छन् ।
ट्रम्पले सोमबार ह्वाइट हाउसको ओभल अफिसमा स्वास्थ्य मन्त्री रोबर्ट एफ। केनेडी जुनियरसँग पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपतिले टायलेनोलको मुख्य तत्व प्यारासिटामोल (अमेरिकामा एसिटामिनोफेन) राम्रो नभएको दाबी गर्दै गर्भवती महिलाहरूले यसलाई चरम ज्वरोको अवस्थामा मात्र सेवन गर्नुपर्ने बताएका छन् ।
यद्यपि, केही अध्ययनले गर्भवती महिलाले टायलेनोल सेवन गर्दा अटिजमसँग सम्बन्ध हुनसक्ने देखाए पनि यी निष्कर्षहरू प्रमाणित भइसकेका छैनन् ।
टायलेनोल बनाउने कम्पनी केन्भ्युले गर्भवती महिलाहरूले यो औषधि प्रयोग गर्नसक्ने पक्षमा वकालत गरेको छ । बीबीसीसँग कम्पनीले भन्यो, “स्वतन्त्र र प्रमाणित विज्ञानले एसिटामिनोफेन सेवनले अटिजम नलाग्ने कुरा स्पष्ट देखाउँछ । हामी यसको विपरीत आउने कुनै पनि दाबीप्रति कडा असहमति जनाउँछौँ । यसले गर्भवती आमाहरूमा उत्पन्न गर्नसक्ने स्वास्थ्य जोखिमप्रति गहिरो चिन्ता व्यक्त गर्छौँ ।”
सोमबारको घोषणामा, मन्त्री केनेडीले फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनले चिकित्सकहरूलाई गर्भावस्थामा टायलेनोल सेवनका सम्भावित जोखिमबारे सचेत गराउने बताए ।
उनले औषधिमा सुरक्षा लेबल परिवर्तन गर्ने प्रक्रिया सुरु गर्ने र यसबारे जनचेतना फैलाउन सार्वजनिक स्वास्थ्य अभियान सञ्चालन गर्ने पनि घोषणा गरे ।







