काठमाडौँ । बाढीपहिरोले चीनतर्फका नाका बन्द हुँदा लामो समयदेखि नाकामै रोकिएका सामान मुस्ताङको कोरला नाकामा भित्रिन थालेका छन् ।
रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नेपाल ल्याउनका लागि कोरला नाकाबाट सामान भित्रिन थालेका हुन् ।
दुई महिनादेखि बाढीपहिरोका कारण रसुवा र तातोपानी नाका बन्द रहेका छन् । रसुवा र तातोपानी नाका बन्द भएपछि विकल्पका रूपमा हालै सञ्चालनमा ल्याएको कोरला नाकाबाट आयात बढ्न थालेको हो । रोकिएका सामान आउन थालेपछि कोरला नाकामा चहलपहल बढ्न थालेको छ ।
मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत रमेश खड्काले कोरला नाकाबाट नेपाल सामान ल्याइएका १२५ वटा कन्टेनर आएको जानकारी दिए । सामान आएर भिड लागेको छ, थापाले भने, “नेट नभएका कारण सामानको भन्सार पास गर्न कठिन भएको छ ।”
नेट आउनेबित्तिकै भन्सार पास गरेर सामान पठाउने उनले जानकारी दिए । आइतबारदेखि नै सामान पठाइने प्रयास भए पनि भन्सार पास र राजस्वको भुक्तानी अनलाइनबाट हुने हुँदा नेटको समस्याले पठाउन कठिन भएको उनको भनाई भनाइ छ । सोमबारबाट भन्सार पास गरेर सामान पठाइने उनले जानकारी दिए ।
दसैँलक्षित ल्याएका तयारी पोसाक, जुत्ताचप्पल र विद्युतीय गाडी बढी आएको उहाँले जानकारी दिनुभयो । नाकामा गत मङ्गलबारदेखि नै सामान आउन थालेको कार्यालयले जनाएको छ ।
असार २४ मा आएको बाढीका कारण रसुवागढी र तातोपानी नाका बन्द भएपछि व्यवसायीले कोरला नाकाबाट सामान नेपाल ल्याउन लागेका हुन् ।
नेपाल समुद्रपार पैठारी सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले दुवै नाकामा एक हजार पाँच सय कन्टेनर सामान रोकिएको जानकारी दिए ।
लामो समयदेखि नाका बन्द हुँदा दसैँलक्षित ल्याएका सामान नेपाल भित्र्याउन नपाउँदा व्यवसायीलाई ठुलो क्षति भएको उनको भनाई छ ।






