काठमाडौं हिजो देखि जेन जी पुस्ताद्वारा भएको लगातार प्रदर्शनले नेपालको राजनीतिक स्थायित्वलाई गम्भीर रूपमा चुनौती दिएको छ। प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा, मन्त्रिपरिषदको विघटन, सिहदरबार र सर्वोच्च अदालत साथै सरकारी सम्पत्ति र ठूलो अर्थतन्त्रमाथि परेको असरले देश नेतृत्वविहीन अवस्थामा पुग्न सक्ने संकेत देखाएको छ।
विशेषज्ञहरूको मत अनुसार, यदि वर्तमान अवस्था यथावत रह्यो भने अबको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न महत्वपूर्ण बन्दैछ। के यसलाई जेन जीले लिन सक्छन्, कि काठमाडौंका मेयर बालेन्द्र शाहले नेतृत्व गर्नेछन्, वा सेनाले हस्तक्षेप गर्दै अस्थायी सैनिक शासनको विकल्प अपनाउनेछन् भन्ने कुरा आगामी दिनमा स्पष्ट हुने छ। एक सैनिक उच्च अधिकारीले भनेका छन्, “सैनिकले पनि परेको खण्डमा शासन लिने सम्भावना छ यदि नेतृत्व विहीन स्थिति जारी रह्यो भने।”
देश नेतृत्वविहीन हुँदा हुने असर धेरैजसो आर्थिक र सामाजिक क्षेत्रमै देखिनेछ। सरकारी कार्यालय र सार्वजनिक सेवामा अवरोध, विदेशी लगानीमा कमी, बैंकिङ र वित्तीय प्रणालीमा अस्थिरता, र नागरिक सुरक्षा कमजोर बन्ने सम्भावना छ। यसले दीर्घकालीन रूपमा नेपाली अर्थतन्त्र र जनजीवनमा गहिरो असर पार्न सक्छ।
सम्पादकीय दृष्टिले, अब आवश्यक छ कि राजनीतिक दल, नागरिक समाज र सुरक्षा निकायबीच सहकार्य गर्दै तत्काल स्थायित्व सुनिश्चित गर्ने कदम चालिनुपर्छ। जेन जीका आवाज र आन्दोलनको मागलाई बुझ्दै संवादात्मक र लोकतान्त्रिक समाधान खोज्नु अत्यावश्यक छ। यदि नेतृत्व स्पष्ट रूपमा स्थापना गर्न सकिएन भने, नेपालले दीर्घकालीन राजनीतिक अस्थिरता र आर्थिक संकटको सामना गर्नुपर्ने सम्भावना उच्च छ।
नेपालको भविष्य सुरक्षित राख्नको लागि नेतृत्व र प्रशासनमा स्पष्टता र जिम्मेवारी आवश्यक छ। जनता, सुरक्षा निकाय रअब नयाँ राजनीतिक दलबीच संयम र समझदारी मात्र अबको चुनौतीको सामना गर्ने उपाय हुन सक्छ।






