बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन–रुस सम्बन्ध ‘अभूतपूर्व स्तरमा’ पुगेको बताएका छन् । मंगलबार बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको वार्तामा उनले दुवै मुलुकबीचको सम्बन्ध हाल ‘अभूतपूर्व स्तरमा’ पुगेको बताएका हुन् ।
पुटिन र सीबीचको भेटवार्ता चीनमा बुधबार हुने विशाल सैन्य परेडअघि सम्पन्न भएको हो । उत्तर कोरियाली नेता किम जोङ उनसहितका दर्जनौँ विश्व नेताहरू चीनको शक्ति प्रदर्शनमा सहभागी हुन राजधानी बेइजिङमा भेला भएका छन् ।
‘हाम्रो घनिष्ठ संवादले रुसी–चिनियाँ सम्बन्धको रणनीतिक प्रकृतिलाई स्पष्ट गर्छ, जुन अहिले अभूतपूर्व स्तरमा पुगेको छ’, पुटिनले पूल गरिएको लाइभ फिडमार्फत सीलाई भने । युद्धको समयमा दुवै मुलुकबीच भएको सहकार्यलाई स्वीकार गर्दै पुटिनले भने, ‘हामी सधैँ सँगै थियौँ र अहिले पनि सँगै छौँ ।’
चीनको उत्तरी सहर तियानजिनमा सम्पन्न सांघाई सहयोग सगठन (एससिओ) को शिखर सम्मेलनलाई चीनले पश्चिमी प्रभुत्वको विकल्पको रूपमा प्रस्तुत गर्ने गरेको छ । बुधबार हुने सैन्य परेड दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्षको स्मरणमा आयोजना गरिएको हो । यसमा करिब दुई दर्जन विश्व नेताहरू सहभागी हुनेछन् ।
सोमबार सम्पन्न शिखर सम्मेलनमा चीन र रुसका नेताहरूले पश्चिमी सरकारहरूको आलोचना गरेका थिए । सीले केही मुलुकहरूको ‘बदमाशीपूर्ण व्यवहार’ को निन्दा गर्दै अप्रत्यक्ष रूपमा अमेरिकालाई इंगित गरे भने पुटिनले रुसको युक्रेन आक्रमणलाई औचित्यपूर्ण ठहर गर्दै द्वन्द्व सुरु गराएकोमा पश्चिमलाई दोष दिए ।
‘चीन–रुस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनको परीक्षालाई सफलतापूर्वक सामना गरेको छ’, सीले पुटिनलाई भने । उनले ‘अझ न्यायपूर्ण र सन्तुलित विश्वव्यवस्था निर्माण गर्न’ मस्कोसँग सहकार्य गर्न बेइजिङ इच्छुक रहेको बताए ।
सन् २०२२ को फेब्रुअरीमा पुटिनले युक्रेनमाथि आक्रमणको आदेश दिनुभन्दा केही अघि नै चीन र रुसले ‘सीमाविहीन साझेदारी’ को घोषणा गरेका थिए । त्यसयता दुवै मुलुकबीच सैन्य तथा व्यापारिक सम्बन्ध अझ प्रगाढ बनेका छन्, जसले पश्चिमी मुलुकहरूलाई चिन्तित पारेको छ ।





