काठमाडौं । एनआईसी एसिया इक्विटी लिंकड इन्भेस्टमेन्ट स्किमको पहिलो चरणमा मागभन्दा १.४८ गुणा बढी आवेदन परेको छ ।
एनआईसी एसिया क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रहेको स्किमको पहिलो चरणमा बीज पूँजीसहित १० रुपैयाँ अंकित दरका ५,००,००,००० (पाँच करोड) इकाइ बिक्री खुला गरिएको थियो । साउन २९ देखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्कासन तथा बिक्री खुल्ला गरिएकोमा बीज पूँजीसहित ८२ हजार ८२८ जना आवेदकहरुबाट ७,४०,३१,६०० बराबरको इकाई खरिदका लागि अन्तिम आवेदन प्राप्त भएको जनाइएको छ ।
जसमध्ये ९१ जना आवेदकबाट प्राप्त १४ हजार ६०० इकाई रीतपूर्वक नदेखिएकाले बाँडफाँडमा समावेश नगरी ८२ हजार ७३७ आवेदकहरुले रीतपूर्वक माग गरेको जम्मा ७,४०,१७,००० (बीज पूँजीसहित) इकाई माग गरेबमोजिम सोमबार स्किम बाँडफाँड गरिएको छ ।
एनआईसी एसिया इक्वीटी लिंक्ड इन्भेस्टमेन्ट स्किमको इकाइ पहिलो चरणमा पाँच करोड इकाई खरिदका लागि दरखास्त आह्वान गरिए पनि नेपाल धितोपत्र बोर्डबाट उक्त योजनाको बीज पूँजीसहित एक अर्व बराबरको १० करोड इकाई बिक्री गर्न स्वीकृत प्राप्त भएको थियो ।
बोर्डबाट स्वीकृत योजनाको विवरणपत्रमा समेत अधिकतम बिक्री गर्न सकिने योजनाको इकाई बीज पूँजीसहित एक अर्ब भएको हुँदा रीतपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई प्रचलित ‘धितोपत्र बाँडफाँड निर्देशिका, २०७४’ को अधिनमा रही लगानीकर्ताहरुलाई माग गरेबमोजिमको इकाई बाँडफाँड गरिएको जनाइएको छ ।
एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम खुलामुखी योजना रहेकाले उक्त योजनाको इकाई बाँडफाँड भएको मितिले तीन महिनाभित्र योजनाको इकाइ पुनः खरिद बिक्री तथा एसआइपी, एमआइएनआइ एसआइपी रजिस्ट्रर गर्न मिल्ने गरी नियमित रुपमा कारोवार सञ्चालनमा ल्याउने योजना रहेको एनआईसी एसिया क्यापिटलले जनाएको छ ।






