काठमाडौ । गत असार २४ बिहान ३ बजेतिर रसुवाकाे गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य सोनामछिरिङ घलेले एक्कासि जमिन कम्पन भएको महसुस गरे । त्यो दिन २०७२ वैशाख १२ गतेको भूकम्प बिर्साउने गरी त्यस क्षेत्रको जमिनमा कम्पन पैदा भएको थियो ।
घले भूकम्प गयो कि क्या हो भनेर सोच्दै थिए । यी कुरा मनमा खेलाउन नपाउँदै खोला गडगडाएको सुनियो । ‘बेस्सरी जमिन हल्लाइरहेको थियो, मैले त भुइँचालो गयो कि भन्ठाने । एक छिनपछि त खोला गडगडाएको सुनियो’, उनले भने, ‘पानी परेको छैन, कसरी बाढी आयो होला, माथि तिब्बततिर पानी परेछ कि क्या हो भनेर अनुमान लगाए । मानिसहरू भागदौड गर्न थाले, म पनि घरबाट निस्किएँ ।’
त्यसको भोलिपल्ट उनलाई थाहा भयो, नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा अचानक बाढी गएको रहेछ भनेर । बाढीले बाटो भत्काएछ । मितेरी पुल नै बगाएछ ।
बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना बेपत्ता र सातजनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ । रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेछ । एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बढीसँगै बगेको छ । चीनसँगको व्यापारिक नाका अझै अवरूद्ध छ ।
वडासदस्य घलेका अनुसार २०१८ सालमा पनि यस्तै भीषण बाढी आएको थियो । तर त्यो बेला अहिलेजस्तो टिमुरेमा बस्ती बसेको थिएन । खोलाको माथिमाथि घर तथा बस्ती भएकाले क्षति पनि भएन । त्यो बाढीको असर खासै देख्न पाइएन ।
पछिल्लो पटक गत असार २४ र त्यसको १० दिनपछि पनि गएको भेलबाढीले टुटाएको केरूङसँगको सडक पहुँच अझ जोडिन सकेको छैन । भेलबाढीपछि सीमावर्ती बजार ठप्प छ । जनजीवन उस्तै त्रस्त छ । ‘ठूलो बाढी आउने त्रासमा स्थानीय बसेका छन् । कति त विस्थापित पनि भइसकेका छन्’, घलेले भने ।
गत वर्षको साउन ३२ गते दिउँसो १ः३० बजे सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा पनि अचानक ठूलो भेलबाढी आयो । त्यहाँका स्थानीयहरूले यसरी एक्कासि भेलबाढी आउला र गाउँ नै एकै झट्कामा सखाप पार्ला भनेर चिताएकै थिएनन् । त्यहाँका स्थानीयका अनुसार त्यस दिन थामे क्षेत्रमा ठूलो पानी परेको थिएन । उत्तरतिर आकाश भने मडारिएको थियो । अनिष्टको कुनै सङ्केत थिएन । यद्यपि गाउँको शिर क्षेत्रबाट मडारिँदै आएको भेलबाढीले गाउँ नै बगरमा परिणत गराइदियो । त्यो अप्रिय एवं अकल्पनीय घटनाले जो कोहीको मन भक्कानिन्छ ।
त्यो घटना सम्झँदा खुम्बु पासाङल्हामु गाउँपालिकी उपाध्यक्ष टासी ल्हामु शेर्पालाई सपनाजस्तै लाग्छ । ‘हामी जलवायुजन्य जोखिमको चपेटामा छौँ’ उनले भने, ‘कुन दिन हिमपहिरोकै शिकार बन्नुपर्ने हो भन्ने चिन्तामा छन्, यहाँका बासिन्दा । हामीलाई पनि यस्तै लागिरहन्छ ।’
त्यस्तै खुम्बु पासाङल्हामु गाउँपालिका थामेकी बासिन्दा याङ्गी डोल्मा शेर्पा भन्छिन्, ‘हेर्दाहेर्दै क्षणभरको बाढीले बगरमा परिणत भएको गाउँको दृश्यले अझै तर्साइरहेको छ । नसोचेको घटना भयो त्यस दिन । दिउँसो भएकाले धन्न भागेर ज्यान जोगाइयो । त्यस घटनाले कतिले त गाउँ छाडेर पनि हिँड्नुभयो ।’
पर्यटन व्यवसायीसमेत रहेका आङछरिङ शेर्पा उमेरले ७० वर्ष कटिसके । सोलुखुम्बुमा जन्मिएका शेर्पा हिमाली क्षेत्रमा पर्न सक्ने जलवायु परिवर्तनजन्य असरका कारण उत्तिकै चिन्तामा देखिन्छन् ।
विगत र वर्तमानको घटनामा देखिएको अन्तर भएको आङछरिङ बताउँछन् । उनले भने, ‘भन्दा मान्छेले नपत्याउलान्, त्यो इम्जा छो हिमताल थिएन । सानो हिमनदी थियो । हामी केटाकेटी हुँदा चिप्लेटी खेल्न जान्थ्यौँ । सन् १९६२ तिर सानो कुवाजस्तो बन्यो । अहिले त त्यति ठूलो ताल बनिसक्यो, हिमालको हिउँ सर्लक्कै पग्लिएको छ ।’
पछिल्ला दुई वर्षमा लगातारजस्तो हिमताल विस्फोटका घटना भएका छन् । गत वर्ष सोलुखुम्बुको थामेमा हिमताल विस्फोटको घटना भयो । लगत्तै दोलखाको रोल्वालिङ क्षेत्रमा पनि भीषण भेलबाढी आएर एकजना होटल व्यवसायी महिला बेपत्ता भइन् । त्यसपछि गोरखाको मनास्लु क्षेत्रमा पनि हिमताल विस्फोट भयो ।
पछिल्लो समय रसुवामा निम्तिएको विध्वंश र मुस्ताङमा पटकपटक गइरहेको भेलबाढीले स–साना हिमतालहरू पनि जोखिमपूर्ण बन्दै गएको अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन् ।
रसुवा भेलबाढीको स्रोत नै ल्हेन्दे खोलाको जलाधार क्षेत्रमा रहेको सुप्राग्लेसियल लेक (हिमनदीको माथिल्लो सतहको बरफ पग्लिएर बन्ने ससाना पोखरीहरू) विस्फोट हुँदा बाढी आएको बताउँछन्, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली ।
यद्यपि विभागले यसबारे विस्तृत अध्ययन गरेको छैन । मुस्ताङमा पनि कालो लेदोसहितको बाढी आएको छ । भेलबाढीले स्थानीय बाटाघाटाको काठेपुल बगाएको छ । त्यहाँ पनि बाढीको कारणबारे कुनै अध्ययन, अन्वेषण हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिहरूले पनि चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको ‘सुप्राग्लेसियल ताल’ फुटेर रसुवाको भोटेकोसीमा बाढी आएको पुष्टि गरेका छन् ।
हालैका यी घटनाहरू (रसुवाको बाढी र सगरमाथाको थामे क्षेत्रको विस्फोट) नयाँ बनेका साना, सुप्राग्लेसियर तालहरू बाट भएको इसिमोडले पुष्टि गरिसकेको छ ।
इसिमोडले १९८५ देखि हिमनदी, हिमताल र त्यसमाथिको विपद् अनुगमन गर्दै आएको छ । त्यसबेला सोलुखुम्बुस्थित खुम्बुमा डिज–छो ताल फुट्दा जलविद्युत् आयोजना बगाएर झन्डै ३० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति पु¥याएको थियो । त्यसपछि इसिमोडले उक्त घटनाको मूल्याङ्कन गर्नुका साथै सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्र भ्रेमाथाङबाट उत्तपत्ति भएको भेलबाढी, उत्तरी गोरखाको वीरेन्द्र ताल, हुम्ला र भारतको सिक्किमस्थित चामोली, दक्षिण लोनाकमा आएका विपद्को समेत अध्ययन गरेको थियो ।
– प्रगति ढकाल/रासस






