काठमाडौँ । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध भएकी छन् ।

सभापति चयनका लागि प्रतिनिधि सभा सचिवालयले तोकेको समयभित्र न्यौपानेको एकल मनोनयन दर्ता भएको छ ।

प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार एकल मनोनयनसँगै प्रस्तावित उम्मेदवार निर्विरोध निर्वाचित हुने छ । निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार दिउँसो ३ बजे बस्ने समितिको बैठकबाट हुने छ ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति संयुक्तबाट राजीनामा गराएर कांग्रेसले न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । न्यौपानेले मङ्गलबार नै सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिए ।

राजीनामा पत्र बुझाएलगत्तै विषयगत समिति सभापतिमा मनोनयन दर्ता गर्नुभएको हो । प्रतिनिधि सभाका सचिव हर्कराज राईले जारी गर्नुभएको उम्मेदवारको अन्तिम नामावलीमा न्यौपानेको एकल मनोनयन समावेश छ ।

खतिवडा समितिका निवर्तमान सभापति हुनुहुन्छ । निजामती सेवा विधेयकको प्रतिवेदन लेखनमा गम्भीर त्रुटि भएको र त्यसमा जिम्मेवारमध्ये एक सभापति भएको संसदीय छानबिनको ठहरपछि खतिवडाले राजीनामा दिए ।
राजीनामापछि सभापति चयन प्रक्रिया अघि बढाइएको थियो । सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन प्रक्रिया सम्पन्न गर्नुपर्ने नियमावलीको दबाबबिच अन्तिम समयमा प्रक्रिया अघि बढाइएको थियो ।