काठमाडौँ । एन आई सी एशिया क्यापिटल लिमिटेडले योजना व्यवस्थापक रही संचालन गर्न लागिएको “एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम” सञ्चालनमा ल्याएको छ ।
एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम हाल नेपालमा संचालित खुलामुखी म्युचुअल फण्डहरु मध्ये पहिलो पटक मिनी सिप तथा एसटिपी जस्ता विशेषतहरु समावेश गरिएका छन् ।

यस योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरु छनौट गरी लगानी गरिनेछ ।
यस योजनामा संकलित रकम लगानी गर्दा २० देखि ७५ प्रतिशतसम्म प्राथमिक शेयर निष्काशन गरेका कम्पनी र धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा, योजना आकारको बढीमा १५ प्रतिशत रकम स्थिर आय हुने उपकरणहरुमा तथा १५ प्रतिशत रकम माग तथा अल्प सूचनामा आय हुने उपकरणहरुमा लगानी गरिने कम्पनीले जनाएको छ । साथै योजनाको रकम लगानी गर्दा भविष्यमा गर्न सक्ने प्रगतिलाई समेत राम्रो संग अध्ययन तथा अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निर्णय गरिने छ ।
किन रोज्ने योजना ?
एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम विविध विशेषता सहितको खुलामुखी योजना हो । उक्त योजना दक्ष तथा प्रमाणित कार्य अनुभव हाशिल गरेको कोष व्यवस्थापक एन आई सी एशिया क्यापिटलले संचालन गर्न लागेको छ ।
एन आई सी एशिया क्यापिटलले हाल संचालन गरिरहेका म्युचुअल फण्ड योजनाहरुको नियमित रुपमा उचित प्रतिफल वितरण गर्न सफल भएको छ । यस योजनामा व्यवस्थित तथा नियमित रुपमा लगानी गरी उचित प्रतिफल चाहने व्यक्तिहरूका लागि लगानीको लागि उपयुक्त विकल्प हो ।
नेपालको सन्दर्भमा हेर्दा पूँजी बजार विकासको क्रममा रहेको र यस योजनाको अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्ने रहेको हुँदा बजारको विस्तार सँगसगै यस योजनामा लगानी गर्ने इकाईधनीको सम्पत्ति समेत बढ्दै जाने हुँदा यस प्रकारको योजनामा लगानी गर्दा लगानीकर्ताहरुले भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कुनै पनि व्यक्तिले न्यून जोखिम लिई स–सानो रकम नियमित रुपमा दीर्घकालसम्म लगानी गरी भविष्यमा उचित प्रतिफल सहित एकमुष्ठ ठुलो रकम प्राप्त गर्न सकिने हुुँदा यस प्रकारको योजनाहरुमा लगानी गर्दा निकै लाभदायक हुने कम्पनीले जनाएको छ ।