काठमाडौं । संघीय निजामती विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ छेडखानी छानबिन गर्न गठित विशेष समितिका सभापति र सतापक्षीय सदस्य सम्पर्कविहीन भएका छन् ।
प्रतिवेदन लेखनको क्रम चल्दै गर्दा आइतबार दिउँसो १ बजेतिर खाना खान निस्किएका सभापति जीवनबहादुर परियारसहित सत्तापक्षीय चार सदस्य अहिले सम्पर्कमा नरहेको विपक्षी सांसदहरूको भनाइ छ ।
माओवादी, रास्वपा र राप्रपा सांसद उनीहरूलाई कुरिरहेका छन् । रास्वपा सांसद गणेश पराजुलीले आफूहरू कुरिरहेको बताए । राप्रपाकी रोशन कार्कीले चारपटक फोन गर्दा पनि सभापति परियारको फोन नउठेको बताइन् ।
सत्ता र प्रतिपक्षीबीच दोषी किटान र कारवाहीमा कुरा मिलेको छैन । समितिले गलत नियतका साथ कुलिङ पिरियडमा बदमासी भएको निष्कर्ष निकालेको छ । तर कसलाई दोषी किटान गर्ने र के कस्तो कारबाही गर्ने भन्नेमा एकमत छैन ।
समितिले आज प्रतिवेदन तयार पारी सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने भएको छ ।
कुलिङ परियडमा सभामुख देवराज घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सरोजकुमार दूरा, मुख्यसचिव एकनारायण अर्याललगायतको संलग्नता रहेको छानबिनमा खुलेको छ ।







