काठमाडौं । बागमती प्रदेश प्रमुख दीपकप्रकाश देवकोटा अचानक अस्वस्थ भएपछि बिहीबारका लागि तय तीन मन्त्रीको सपथ कार्यक्रम रोकिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नवनियुक्त तीन मन्त्रीको सपथ गर्न समय मिलाउन भनेपछि प्रदेश प्रमुख कार्यालयले बिहीबार दिउँसो १ बजेका लागि समय तोकेका थिए ।

तर बागमती प्रदेशमा कांग्रेसभित्रको आन्तरिक किचलोका कारण प्रदेश प्रमुख देवकोटाले जोखिम लिन नचाहेको देखिएको छ । सोही कारण बुधबार रातिसम्म सामान्य अवस्थामा रहेका देवकोटा बिहीबार बिहानै उपचारका लागि काठमाडौं हिँडेपछि अनेकथरी चर्चा सुरु भएको छ ।
मुख्यमन्त्री लामाले कांग्रेस दलको नेताको हैसियत गुमाएपछि उनी वैधानिक संकटमा परेका छन् । उनीमाथि राजीनामाको दबाब बढेको छ ।

ADVERTISEMENT

तर लामाले त्यसको बेवास्ता गर्दै गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । बुधबारकै लागि तय सपथ एमालेको दबाबमा रोकिएको थियो । बिहीबारको सपथ भने प्रदेश प्रमुख देवकोटा विरामी भई उपचार गराउन काठमाडौं हिँडेपछि अनिश्चितकालका लागि रोकिएको छ ।

ADVERTISEMENT

स्रोतका अनुसार बुधबार राति नै कांग्रेस प्रदेश दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुख देवकोटालाई भेटेका थिए । बानियाँले वैधानिक रूपमा चल्न आग्रह गरेकाले प्रदेश प्रमुख देवकोटाले अस्वस्थ भएको सचना निकाल्न लगाएको बुझिएको छ । मुख्यमन्त्री लामाले कुनै पनि हालतमा मार्ग प्रशस्त नगर्ने अडान लिएका छन् । उनले आफू गठबन्धनबाट मुख्यमन्त्री बनेकाे र दुई वर्षसम्म अविश्वासकाे प्रस्ताव राख्न नमिल्ने भन्दै अझै एक वर्ष कुर्सीमै बस्न चाहेका छन् ।