काठमाडौं, विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा सुरू भएको छ। अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबारदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स सहभागी भएका छन्।
यो प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा खेलिनेछ, जहाँ सहभागी सबै राष्ट्रहरूले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। पुरुष तथा महिला दुबै समूहमा विजेता हुने राष्ट्रले सन् २०२६ सेप्टेम्बरमा इङ्गल्यान्डमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाउनेछ।
नेपालको तर्फबाट महिला टिममा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेलले प्रतिनिधित्व गरिरहेका छन् भने पुरुष टिममा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल छन्।
दक्षिण एशियाली क्षेत्रका लागि महत्वपूर्ण मानिएको यस छनोट प्रतियोगिताले नेपालमा अन्तर्राष्ट्रिय टेबलटेनिसको उपस्थिति र विकासमा थप योगदान पुर्याउने विश्वास गरिएको छ। प्रतियोगिता केही दिनसम्म लैनचौरस्थित तालिम केन्द्रमै जारी रहने बताइएको छ ।








