काठमाडौं । टेस्ला कम्पनीले दक्षिण कोरियाको ठूलो प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्ससँग १६.५ अर्ब अमेरिकी डलर (झन्डै २,२०० अर्ब नेपाली रुपैयाँ) बराबरको बृहत सम्झौता गरेको छ। यो सम्झौता मस्कले विशेष रूपमा टेस्लाका स्वचालित गाडीका लागि आवश्यक पर्ने उच्च प्रविधियुक्त  चिप निर्माणका लागि गरिएको हो।

यो सम्झौता सन् २०२५ देखि २०३३ सम्मका लागु हुनेछ। यस अवधिमा सामसुङले टेस्लाका लागि AIमा आधारित “AI6” नामको शक्तिशाली चिपहरूको  उत्पादन गर्नेछ। यी चिपहरू टेस्लाको नयाँ पुस्ताको गाडीहरूमा प्रयोग गरिनेछन्, जसले गाडीलाई चालक बिना चलाउने क्षमता प्रदान गर्छ। सामसुङले टेक्सासस्थित आफ्नो नयाँ फ्याक्ट्री “टेलोर फ्याब”मा यी चिपहरूको उत्पादन गर्नेछ।

सम्झौताले सामसुङलाई ठूलो फाइदा पुर्‍याउने अनुमान गरिएको छ। कम्पनीको सेमी कन्डक्टर व्यवसाय अन्तर्गत  यो अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता हो, जसले उसको कुल आम्दानीको झन्डै ७.६ प्रतिशत हिस्सा ओगट्नेछ। हाल सामसुङ TSMC र SK HYNIX जस्ता ठूला प्रतिस्पर्धीसँग बजारमा पछाडि परेको छ, तर यस सम्झौताले सामसुङलाई फेरि बलियो स्थानमा ल्याउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

एलोन मस्कले सामाजिक सञ्जालमार्फत भनेका छन् कि उनी स्वयं यस परियोजनामा संलग्न रही प्रगति र गुणस्तरमा विशेष ध्यान दिनेछन्।  सम्झौताको सफल कार्यान्वयनले टेस्लाका नयाँ गाडीहरू अझ सुरक्षित, छिटो र स्मार्ट बन्नेछ, जसले भविष्यको बिदुतिया गाडीहरुको  प्रविधिमा ठूलो परिवर्तन ल्याउनेछ।

ADVERTISEMENT

यस सम्झौताले प्रविधिको क्षेत्रमा अमेरिका र दक्षिण कोरियाबीचको सहकार्यलाई पनि बलियो बनाउने विश्वास गरिएको छ।

ADVERTISEMENT