काठमाडौं । सुनकोशी र रोशी खोलाको दोभानमा अवस्थित हिन्दूहरुको प्रसिद्ध धार्मिक क्षेत्र कुशेश्वर महादेव मन्दिर दर्शन गर्न अहिले कठिनाइ भइरहेको छ।

गत वर्ष असोज १२ गते रोशी खोलामा आएको बाढीले यहाँ रहेको ह्युमपाइप बगाएपछि दर्शनार्थीलाई मन्दिरसम्म जान कठिनाइ भएको हो।

हिमवत पुराणको नेपाल महात्म्यमा उल्लेख भएअनुसार यो क्षेत्रमा कौशिक ऋषिले तपस्या गरेका थिए। कुशेश्वर मन्दिरकै पारीपट्टि सुनकोशीको किनारमा ऋषि बिश्वामित्रले तपस्या गरेको स्थान समेत रहेको छ। यहीँबाट गायत्री मन्त्रको उत्पत्ति भएको शिव पुराणमा उल्लेख रहेको पाइन्छ।

पहिला रोशी खोलामा ह्युमपाइप राखेर गाडीलगायत पैदल यात्रीलाई मन्दिरसम्म जाने ब्यवस्था मिलाइएको थियो। तर गत वर्षको बाढीले ह्युमपाइप बगाएपछि अहिले मन्दिर दर्शन गर्न रोशी तरेर जानुको विकल्प छैन। सानो पानी पर्दा पनि रोशीको बहाब बढ्ने हुँदा अहिले मन्दिरमा दर्शनार्थी कम आउन थालेका छन्।

गत वर्षको बाढीले सुनकोशी नदीमाथि बनेको पक्की पुल समेत बगाको हुँदा अहिले यहाँबाट मध्य पहाडी राजमार्ग हुँदै रामेछाप जिल्लाको खाँडादेवी, दोरम्बा र शैलुङ जाने सडक यातायात समेत बन्द भएको छ। पुल भत्काए संगै अहिले यहाँका बासिन्दाहरुलाई रामेछाप जान करिब १५ किलोमिटर तल मूलकोटबाट जानुपर्ने बाध्यता छ।