काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा मागेको छ ।
वाइडबडी भ्रष्टाचारको अनुसन्धान चयनमुखी गरेको भन्दै विशेष अदालतले फैसलामै विशेष टिप्पणी गरेपछि विवादमा परेका राईले पदबाट राजीनामा दिनुपर्ने रास्वपाका सांसद शिशिर खनालले माग गरेका छन् । खनालले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत राईको राजीनामा मागेका हुन्। उनले लेखेका छन्, ‘अख्तियार प्रमुखज्यू राजीनामा दिनुहोस्।’
राई अख्तियारको प्रमुख आयुक्त हुनु अगाडि पर्यटन सचिवको रूपमा नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्ष थिए। सोही समितिको निर्णयबाट वाइडबडी खरिदको प्रक्रिया शुरु भएको थियो। अख्तियारले छानबिन गर्दा सो निर्णयमा संलग्न केहीलाई प्रतिवादी बनाउने अनि केहीलाई प्रतिवादी नबनाउने गरेकाले अदालतले फैसलाको पूर्णपाठमा नै चयनमुखी अनुसन्धान गरेको भनेर आलोचना गरेको थियो।
विशेषको फैसलामै अख्तियारको छानबिनको निष्पक्षतामाथि अदालतको फैसलाको पूर्णपाठमै प्रश्न उठेपछि राईमाथि राजीनामाको दबाब बढेको छ।






