काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूको बैठक जारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार बिहानैदेखि बैठक बसेको हो ।

पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल छन् । सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढिरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।

बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।

ADVERTISEMENT

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री फेरबदलको चर्चा चलेको छ । ओलीले आफूले सरकारका मन्त्रीहरू फेर्न लागेको भनेर देउवालाई जानकारी गराइसकेका छन् । तर देउवाले मन्त्री फेर्ने भए एमालेकै मात्र गर्न, कांग्रेसका मन्त्रीहरू कायमै रहने जनाउ दिएका छन् । तर प्रधानमन्त्री ओलीले निकै दबाब दिएपछि देउवाले आजका लागि कांग्रेस शीर्ष नेताको बैठक बोलाएको नेताहरुको भनाइ छ ।

ADVERTISEMENT

कांग्रेसमा एउटा पनि मन्त्रीको काम सम्झनलायक नरहेको भन्दै आलोचना भइरहेको छ । कांग्रेस नेता शेखर कोइराला मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्ट छन् । उनले प्रधानमन्त्री केपी ओलीले कांग्रेसका मन्त्रीहरुलाई काम नै गर्न नदिएको आरोप लगाउँदै नेतृत्व फेरबदल गर्नुपर्ने अडान राखेका छन् । आजको बैठकमा शेखर पनि सहभागी छन् ।

ADVERTISEMENT