काठमाडौं । साउन महिना लागेसँगै महिलाहरु हरिया चुरापोते अनि मेहेन्दीमा सजिएर हिँडिरहेका देख्न सकिन्छ । बजारमा यी सामानको व्यापार बढेको छ । खासगरी असन इन्द्रचोकमा चहलपहल बढेको छ।

वर्षौंदेखि चुरापोतेका लागि प्रख्यात छ इन्द्रचोक । साउनमा यो बजार झन् रंगीन देखिन्छ । मानिसहरु रंगीबिरंगी पोते उन्न व्यस्त देखिन्छन् । चाखलाग्दो कुरा त के छ भने हिन्दू महिलाहरुको गला र हात सजाउने चुरापोते बनाउन तल्लीन छन् मुस्लिम हात ।

ADVERTISEMENT

इन्द्रचोकमा सजीब उद्दिनको पसल साना–साना रंगीन सिसाका दानाले भरिएको छ। पोते, चुरा, हरियो–रातो रंग र त्यो रंगभित्र मिसिएको सिप, अनुभव र धर्मको सहअस्तित्व। ‘हाम्रो बाजेको पसल हो यो । बाजेले ६०–७० वर्षसम्म यही काम गर्नुभयो। उहाँबाट नै मैले सिकेको,’ उनी भन्छन् ।

ADVERTISEMENT

सजीबका अनुसार पोते बनाउने यो सीप सिक्न उनलाई एक वर्ष लाग्यो। अहिले ८–९ वर्षदेखि यही काममा छन्। काठमाडौंको स्वयम्भूमा पुरानो घर भएका उनी अहिले बनस्थलीमा बसोबास गर्छन्। यसअघि उनले कतारमा छ वर्ष काम गरेका थिए। फर्किएपछि भने पुरानो परम्पराको डोरो समाते।

पोते बनाउने काम सजिलो छैन। कुनै पाँच मिनेटमा सकिन्छ, कुनै दुई–तीन घण्टा पनि लाग्छ। रङका मागहरू फरक–फरक हुन्छन्। ‘अहिले रातो, हरियो र पहेँलो सबैभन्दा बढी मागमा छन्,’ उनले भने।

ADVERTISEMENT

साउनमा महिलाहरू प्रायस् समूहमा आउँछन्। कतिपय पोते आफ्नै लागि किन्छन् त कतिपय अरू महिलालाई उपहार दिने उद्देश्यले किन्छन्। सजीबका अनुसार पोतेको मूल्य १५ रुपैयाँदेखि ५००–६०० रुपैयाँसम्म पर्छ। सस्तो पोते खासगरी मन्दिरमा चढाउन प्रयोग गरिन्छ।
सोमबारभन्दा अरु दिन बढी व्यापार हुने उनले सुनाए । साउन महिनाभरि अरु महिनाभन्दा बिक्री दोब्बर हुने उनले बताए । पार्किङले भने धेरैलाई असहज भएको छ ।