काठमाडौं । सेयर बजारमा सक्रिय लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार ठगी तथा विश्वासघातको अभियोगमा उनलाई सोमबार टोखा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अग्रवालले सेयर कारोबारको नाममा विभिन्न लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूलाई करिब २२ करोड रुपैयाँभन्दा बढी ठगी गरेका थिए ।
अग्रवालविरुद्ध धितोपत्र बजारसम्बन्धी आर्थिक अनियमितता, विश्वासघात र ठगीसम्बन्धी अभियोगमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे नेपाल धितोपत्र बोर्डले समेत छुट्टै अनुसन्धान अघि बढाइसकेको छ । अग्रवाल विवादास्पद सेयर कारोबारी हुन् । सामाजिक सञ्जालमा निकै सक्रिय मानिने अग्रवाल आफूविरुद्ध लेख्ने पत्रकार र मिडियालाई मुख छाडेर गाली गर्छन् ।
अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र महँगोमा बिक्री गर्ने गर्दै आएका थिए । उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जालमार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्याउने भन्दै झुट्टा आस्वासन दिने गर्थे । सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्थे । आइतबार पनि उनले आफूले महँगोमा सेयर किन्न लागेको लेखेका थिए ।





