काठमाडौं । लामो कसरतपछि शुक्रबार वामदेव गौतम माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्दैछन् । एमालेले अन्तिममा नपत्याएपछि वामदेव एक्रीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले एकीकृत समाजवादीसँग एकता गर्ने निर्णय गरेको छ । गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको बैठकले विगत चार वर्षको समीक्षा गर्दै एकीकरण गर्ने निर्णय गरेको हो ।

राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको हो ।

ADVERTISEMENT

एकीकृत समाजवादीले आज राष्ट्रिय सभागृहमा हुने एकता सभामा पार्टी मातहतका कमिटीलाई अनिवार्य सहभागिताका लागि निर्देशन दिएको छ । एकता सभाको कार्यसूची तथा नेताहरूको वरीयताक्रम व्यवस्थापन कार्य सम्पन्न भएको छ ।

ADVERTISEMENT

सभाबाट एकीकरणको सन्देश प्रवाह गरिने कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए।

ADVERTISEMENT

२०७७ मा तत्कालीन एमालेबाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफलमा गरिएको थियो । एकता हुन लागेको उक्त पार्टीको पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ । उनी राष्ट्रियसभा सदस्यसमेत हुन् ।