काठमाडौं । असार महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असार महिनामा मात्रै घर जग्गासम्बन्धी कारोबार १ लाख ५४ हजार ७२० पटक भएको छ ।

२०८१ को असार मसान्तमा १ लाख ३६ हजार ९३ पटक घरजग्गा सम्बन्धी कारोबार भएको थियो । २०८२ को असार मसान्तमा जसमध्ये ५५ हजार ५२४ पटक लिखत पारित भएको छ । गत वर्षको असारमा ४६ हजार १७९ पटक लिखत पारित भएको थियो । यस तथ्यांकले पनि असारमा घरजग्गाको कारोबार बढेको देखाउँछ ।

ADVERTISEMENT

गत आर्थिक वर्षको जेठ महिनामा पनि घरजग्गाको कारोबारमा खासै उल्लास थिएन । गत आर्थिक वर्षको अन्तिम महिनामा एक्कासी घरजग्गाको कारोबार बढेको तथ्यांकले देखाएको छ । आर्थिक वर्षको अन्त्यमा हिसाब मिलानलगायतको कारोबारहरु मिलाउनको लागि घरजग्गाको किनबेच बढेको जानकारहरु बताउँछन् । विगत ४ वर्षदेखि घरजग्गाको कारोबारमा खासै उत्साह छैन ।

यस्तै२०८२ असार महिनामा घरजग्गाको कारोबारसँगै त्यसबाट संकलन हुने राजस्व पनि बढेको छ । असार महिनामा सरकारले घरजग्गाको कारोबारबाट ६ अर्ब ५५ करोड १७ लाख रुपैयाँ राजस्व प्राप्त गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । २०८१ को असारमा सरकारले यो क्षत्रबाट ४ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । जसअनुसार २०८१ को असारमाभन्दा २०८२ को असारमा सरकारले संकलन गर्ने राजस्व ४२।०४ प्रतिशतले बढेको हो ।

ADVERTISEMENT

चालु आर्थिक वर्षको मौद्रिक नीतिले रियलस्टेट क्षेत्र चलायमान बनाउने नीति लिएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२÷०८३ को मौद्रिक नीति मार्फत रियलस्टेट क्षेत्र चलायमान गराउन केही व्यवस्थालाई सहजिकरण गरिदिएको छ ।

मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले घर खरिद गर्नेको हकमा लोन टु भ्यालु रेसियो ८० प्रतिशत, व्यक्तिगत जग्गा खरिद गर्दा ३ करोडसम्मको कर्जा सीमा कायम गरेको छ । यस अघि २ करोड रुपैयाँसम्मको सिमा थियो । यसले गर्दा घरजग्गा क्षेत्र चलायमान हुने बताइएकोछ ।
शेयर गर्नुहोस्