काठमाडौ । हिन्दी चलचित्र तथा टेलिभिजन कार्यक्रम निर्माता धीरज कुमारको निधन भएको छ । उनको मंगलबार मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा निधन भएको हो।
७९ वर्षीय धिरज कुमारलाई केही दिनअघि तीव्र निमोनिया भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिए पनि स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि मंगलबार बिहान उनको निधन भएको हो ।
धीरज कुमारले सन् १९६० को दशकमा बलिउडमा पाइला टेकेका थिए। राजेश खन्ना र सुभाष घईसँगको ट्यालेन्ट प्रतियोगिताबाट अभिनयको सुरुवात गरेका उनले हिन्दी र पञ्जाबी फिल्महरूमा अभिनय गर्दै आफ्नो पहिचान बनाएका थिए। पछि उहाँले क्रियटिभ आई लिमिटेड नामक प्रोडक्सन कम्पनी स्थापना गरी ओम नमः शिवाय, जय संतोषी माँ, अदालतलगायतका चर्चित टेलिशृंखला निर्माण गरेका थिए । जसले उनलाई भारतीय टेलिभिजनको एक प्रतिष्ठित निर्माता बनायो।
निधनको केही समयअघि मात्र उनी नवी मुम्बईमा इस्कोन मन्दिरको उद्घाटन समारोहमा सहभागी भएका थिए । धीरज कुमारको निधनप्रति बलिउड कलाकार, निर्माताले गहिरो दुःख व्यक्त गरेका छन्।












