काठमाडौं । ७८ लाख घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
गुप्ताले नखाएको विष लागेको दाबी गरेका छन् । आफू त्यसकै सिकार भएको फेसबुकमा लेखेका छन् । ‘विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस डिलसँँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिलेकाहिी नखाएको बिष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्मान्निय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु,’ उनले भनेका छन् ।
एआईको दुरुपयोग गरी आफूलाई बदनाम गरिएको उनको जिकिर छ । ‘प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्टाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु,’ उनले लेखेका छन् ।
भूमि आयोग कास्कीको अध्यक्ष बनाइदिने भन्दै उनले ७८ लाख रुपैयाँ घुस डिल भएको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा तानिएका हुन् । घुस डिलको अडियो सार्वजनिक भएसँगै उनलाई बर्खास्त गर्नुपर्ने आवाज उठ्दै आएको थियो । प्रधानमन्त्री केपी ओलीमाथि पार्टीकै सांसद र नेता, सत्ता साझेदार कांग्रेस र प्रतिपक्षीले पनि गुप्तालाई कारबाही गर्न दबाब बढाएका थिए ।
उनले फेसबुकमा लेखेका छन्
बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु । प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनून भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारीबोधका साथ पार्टिले दिएको जिम्मेवारी इमान र निस्टाको साथ पूरा गर्ने प्रतिब्दताको साथ जनताको घरदैलोमा आउने प्रण गर्दछु ।









