काठमाडौं । शुक्रवार राति ८ः४५ बजे ललितपुरको पाटनढोकास्थित पारिवारिक रूपमा सञ्चालित एबीसी एरोम्याटिक ब्रिउ क्याफेमा भएको एक भयानक आक्रमणले सर्वसाधारण त्रसित भएका छन्।

ग्राहकको रूपमा प्रवेश गरेका ललितपुर महानगरपालिकाका दुई स्थानियले बिना कारण कर्मचारीहरूलाई गालीगलौज गर्दै क्याफेका सञ्चालक सरोज अवाले र उनकी आमा सबिना अवालेलाई कुटपिट गरेका थिए। सरोजको मुख, नाक र आँखा गम्भीर रूपमा चोट लागेको छ । जसका कारण उनी बोल्न, खाना खान वा पानी पिउनसमेत असमर्थ छन्। सरोज अधित अवालेका भाइ हुन् ।

आमा सबिना अवालेको हात, थाइ र संवेदनशील अंगमा चोट लागेको छ। घटनामा हस्तक्षेप गर्न खोज्ने एक ग्राहक पनि घाइते भएका छन्। क्याफेमा रहेका मोबाइल फोन र अन्य सामग्रीसमेत तोडफोड गरिएको छ ।

घटनाबारे प्रहरीमा उजुरी दिइसकिएको, मेडिकल रिपोर्ट, तस्बिर र क्षतिको विवरण बुझाइसकिए पनि आक्रमणकारीहरू अझै पक्राउ परेका छैनन्। घटनाले परिवारलाई मानसिक रूपमा भत्काएको छ। पीडित पक्षले यस्ता घटना दोहोरिन नदिन र दोषीलाई कारबाहीको माग गर्दै अन्य पीडितहरूलाई पनि अगाडि आउन अपिल गरेका छन्।