काठमाडौँ ।  सरकारले स्टार्टअप उद्यम कर्जा वितरणको काम सुरु गरेको छ ।

चालुु आर्थिक वर्ष २०८१/८२को लागि स्टार्टअप उद्यम कर्जाका लागि छनोट भएका ६६१ परियोजना मध्ये हाल सम्म ३५३ जना उद्यमीलाई २४ करोड १३ लाख ६० हजार रुपियाँ लिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । छनोटमा परेका उद्यमीले तीन प्रतिशत ब्याजमा लाख रुपियाँ सम्म कर्जा वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

ADVERTISEMENT

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले असारभित्र छनोट भएका सबै उद्यमीलाई कर्जा प्रवाह गरिसक्ने जानकारी दिनुभयो । छनोटमा परेका उद्यमीलाई न्यूनतम पाँच लाखदेखि २५ लाख रुपियाँसम्म कर्जा वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । सिफारिसमा परेका उद्यमीलाई सम्बन्धित जिल्लामा रहेका राष्ट्रिय वाणिज्य बैङ्कमार्फत तीन किस्तामा कर्जा वितरण गरिएको समितिले जनाएको छ ।

ADVERTISEMENT

बैङ्कले कर्जा प्रवाह गर्न बढीमा पाँच लाख रुपियाँसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाख रुपियाँसम्मको दोस्रो किस्ता र त्यसभन्दा माथिको हकमा तेस्रो किस्ता कर्जा वितरण गर्ने स्टार्टअप उद्यम कार्यविधिमा उल्लेख छ ।

बैङ्कले छनोटमा परेका उद्यमीलाई स्थलगत निरीक्षण गरेर मात्र कर्जा वितरण गर्ने गरेको छ । चालु आर्थिक वर्षको बजेटमा स्टार्टअप कर्जा प्रवाहका लागि एक अर्ब रुपियाँ विनियोजन गरिएको छ । स्टार्टअप उद्यम कर्जा प्राप्त गर्ने उद्योगमा कृषि तथा पशुपन्छी, सूचना प्रविधि, पर्यटन, फर्निचर, लघु उद्योग, निर्माण सामग्री, वर्कसप, गार्मेन्ट तथा ह्यान्डी क्राफ्ट उद्योग, फेब्रिकेसन, मेटल तथा ग्लास, क्याफे तथा रेस्टुराँ, स्पोर्टस तथा सङ्गीत, होस्टेल, खाद्य प्रशोधन रहेका छन् ।

ADVERTISEMENT

गत आवमा प्रतिष्ठानले १६५ उद्यमीलाई २१ करोड रुपियाँ कर्जा प्रवाह गरेको थियो । सरकारले नवीनतम उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाहमा सहभागी गराउने उद्देश्यले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि कार्यान्वयमा ल्याएको छ । कार्यविधिले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएको उद्यमीलाई समावेश गरेको छ । यसैबिच आगामी आव २०८२÷८३ को बजेटमार्फत स्टार्टअप उद्यम कर्जा वितरणका लागि ७३ करोड रुपियाँ विनियोजन गरिएको छ ।