काठमाडौं । अमेरिकाले आफ्नो तीन प्रमुख आणविक केन्द्रमा आक्रमण गरेपछि इरानले तेल आयात निर्यातको सबैभन्दा महत्वपूर्ण सामुद्रिक बाटो स्ट्रेट अफ होर्मुज बन्द गर्ने निर्णय गरेको छ। त्यो सम्झौता खारेज गर्ने निर्णयलाई इरानको संसदले अनुमोदन गरिसकेको छ। यो प्रस्तावको अन्तिम स्वीकृति भने सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्नुपर्नेछ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज नाका बन्द नगराउनका निम्ति मनाउन चीनलाई आग्रह गरेका छन्। चीन र भारत इरानबाट तेल खरिद गर्ने दुई मुख्य ठुला देश हुन्। तर बदलिँदो परिवेशका कारण दक्षिण कोरिया र जापानले इरानबाट तेल खरिद गर्न बन्द गरिसकेका छन्।
विश्वको तेल तथा ग्यासको करिब एक चौथाइ परिमाण ढुवानी गरिने पर्सिअन खाडीको मुखमा रहेको उक्त साँघुरो सामुद्रिक मार्ग विश्वकै इन्धन आपूर्ति चक्रको एक महत्वपूर्ण हिस्सा हो।
यो बाटाबाट हुने आपूर्तिमा कुनै रोकावट भएमा विश्वको अर्थतन्त्रमा गम्भीर प्रभाव पर्छ र तेलको भाउ बढेमा त्यसले भारत, चीन र जापानजस्ता मुख्य आयातकर्ताहरूका लागि समस्या पैदा गर्छ। यदि इरानले यो निर्णय कार्यान्वयन गरेमा क्रुड तेल प्रतिब्यारेल १२० डलर पुग्ने अनुमान गरिएको छ । अमेरिकाले त्यसलाई ‘इरानकै लागि आर्थिक आत्महत्यासरह’ भनेर टिप्पणी गरेको छ।
अरब र ओमन खाडीबीचको रणनीतिक रुपमा महत्वपूर्ण तेलमार्ग हो होर्मुज समुन्द्री मार्ग क्षेत्र, जो विश्वको तेलमार्गको सेतुका रुपमा चिनिन्छ। करिव ४० किमी लामो होर्मुज समुन्द्री तेल मार्ग तरल प्राकृतिक ग्यास ओसारपसार गर्ने महासागरको बाटो हो। ओमान र इराकबीचका यो मार्गले साउदी अरेबिया, इरान, युएईलगायतका देशहरूलाई अरब सागर र त्यसबाहिरको सामुद्रिक बाटोलाई जोड्छ।






