ललितपुर– ललितपुरको ठैवमा विद्युतको पोल सार्नेक्रममा पोलले लागेर एकजनाले ज्यान गुमाएका छन् । बुधबार बिहान करिब साढे १० बजे गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा सडक निर्माणको सिलसिलामा पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको हो ।
प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जेसिबीले पोल अड्याउन नसक्दा सो घटना हुन पुगेको जानकारी दिए । घटनापछि आक्रोशित स्थानीयले जेसिबीको सिसा फुटाइदिएका छन् । ‘घटनास्थलमा ८०–९० जना स्थानीय जम्मा भएका थिए, प्रहरी टोलीले घटनालाई शान्त बनाउने प्रयास गरेको छ । मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाएका छौँ’, उनले भने ।
ठैवदेखि सानागाउँ जाने सडकमा हाल स्तरोन्नतिको काम अघि बढिरहेको छ । बुधबार बिहानदेखि सडकमा विद्युत प्राधिकरणले हटाउनुपर्ने दुईवटा पोल बाँकी थियो । त्यसक्रममा दोस्रो पोल काटेर भुइँमा राख्ने क्रममा सडकमा उभिएर हेरिरहेका ठैंवकै शाहीको मृत्यु भएको हो । करिब पाँच घन्टापछि स्थानीयको अवरोध शान्त भएको थियो । प्रहरी वृत्त सातदोबाटोमा मृतकका आफन्त, विद्युत प्राधिकरणका प्रतिनिधि, ठेकेदार कम्पनीका प्रतिनिधिबीच छलफल भई घटना मिलाइएको छ ।




