विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएपछि छलफल सुरु भएको हो ।
छलफलका क्रममा प्रदेशसभा सदस्य सपना दर्जीले नीति तथा कार्यक्रम शब्दमा राम्रो देखिए पनि कार्यान्वयनयोग्य नभएको टिप्पणी गरे ।
सदस्य राजेन्द्र कार्कीले पर्यटन, पूर्वाधार, कृषि तथा रोजगारीका विषय समेटिएको सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन आवश्यक रहेको धारणा राखे ।
सदस्य गणेश उप्रेतीले सुकुमवासीको विषयमा नीति तथा कार्यक्रम मौन रहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
त्यस्तै, सदस्य होमबहादुर थापाले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको र प्रदेश विकासका लागि मार्गचित्रको भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सदस्य बाबुराम गौतमले सरोकारवालासँग पर्याप्त छलफल नगरी नीति तथा कार्यक्रम ल्याइएको आरोप लगाउँदै यसबाट अपेक्षित रूपमा जनता लाभान्वित नहुने दाबी गरे ।
सदस्य राधाकृष्ण खनालले नीति तथा कार्यक्रमले ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माणको आशा जगाएको बताए।
सदस्य प्रेमराज थाम्साङले सीमित स्रोतसाधनका बीच सरकारले ल्याएको नीति तथा कार्यक्रमले आम नागरिकको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सदस्य जयप्रकाश चौधरीले नीति तथा कार्यक्रम नागरिकमैत्री रहेको र यसले स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्ने धारणा राखे।
सदस्य किशोरचन्द्र दुलालले नीति तथा कार्यक्रमले सरकारको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै आगामी वार्षिक बजेटमार्फत सरकारको दिशा थप स्पष्ट हुने बताए।
यसैबीच, आजको बैठकले ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३’ लाई पनि स्वीकृत गरेको छ ।
प्रदेशसभाको अर्को बैठक जेठ ११ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ ।