नयाँदिल्ली । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भारतीय समकक्षी सुब्रमण्यम जयशंकरसँग उच्चस्तरीय वार्ता गरेका छन् । वार्ताको उद्देश्य वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला वर्षहरूमा कमजोर हुँदै गएको विश्वासलाई पुनःस्थापित गर्ने प्रयास गर्नु रहेको छ ।

अमेरिका र भारतबीच सम्बन्ध हाल करिब दुई दशकयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको मानिन्छ । यसलाई मुख्य रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति तथा भारतीय निर्यातमाथि बढाइएको शुल्कले थप जटिल बनाएको छ ।

ADVERTISEMENT

रुबियो क्वाड भनेर चिनिने इन्डो–प्यासिफिक सुरक्षा संरचनामा सहभागी भारत, अस्ट्रेलिया र जापानका विदेशमन्त्रीहरूसँग मंगलबार हुने बैठकअघि पहिलो औपचारिक भारत भ्रमणका लागि शनिबार नयाँदिल्ली आइपुगेका हुन् ।

नयाँदिल्लीमा रुबियोले भारतलाई अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिक दृष्टिकोणको आधारशिला भएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्ध मात्र नभई बहुपक्षीय सहकार्यमा पनि यसको महत्त्व रहेको बताए ।

भारतका पूर्व विदेश नीति सल्लाहकार अशोक मलिकले पछिल्लो समय व्यापार, सुरक्षा र कूटनीतिक विषयमा वासिङ्टनबाट आएका बयानबाजीले सम्बन्धमा असहजता र विश्वासको कमी सिर्जना गरेको टिप्पणी गरे । उनका अनुसार यदि यस भ्रमणले सम्बन्धलाई थप बिग्रन नदिई स्थिर बनाउन सकेमा मात्र यसलाई सफल मान्न सकिन्छ ।

विशेषज्ञहरूका अनुसार अमेरिका र भारतबीच संरचनात्मक रूपमा फरक प्राथमिकता र रणनीतिक दृष्टिकोण भए पनि साझा सुरक्षा चिन्ताले उनीहरूलाई नजिक ल्याएको छ । भारत परम्परागत रूपमा रूससँग नजिक रहे पनि पछिल्ला वर्षहरूमा अमेरिकासँग नजिकिँदै गएको देखिएको छ तर ऐतिहासिक अविश्वास र सांस्कृतिक भिन्नताले यो सम्बन्धमा निरन्तर असर पार्दै आएको छ ।

इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो सैन्य र आर्थिक प्रभावका कारण क्वाड फोरममार्फत भारत, अमेरिका, अस्ट्रेलिया र जापानबीच सहकार्य विस्तार हुँदै आएको छ । यी देशहरूले दक्षिण चीन सागरमा चीनको गतिविधिप्रति बारम्बार आलोचना गर्दै आएका छन् भने बेइजिङले भने आफ्नो गतिविधि रक्षात्मक भएको दाबी गर्दै आएको छ ।